म्याद थप गरिएको सम्बन्धमा

home-plan
सूचना
राष्ट्रिय फिचर लेखन प्रतियोगितामा सामग्री पठाउने म्याद थप गरिएको सम्बन्धमा

चलचित्र पत्रकार संघ नेपालद्वारा नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ मा सहभागी हुन सामग्री पठाउने म्याद थप गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
यसअघि जारी सूचनाअनुसार २०८३ साल असोज २३ गतेसम्म सामग्री पठाउन सकिने व्यवस्था गरिएकोमा इच्छुक पत्रकारहरूको सहभागितालाई सहज बनाउने उद्देश्यले अब २०८३ साल मंसिर १ गतेसम्म सामग्री पठाउन सकिने गरी म्याद थप गरिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा चलचित्र समीक्षा न्यूनतम १,१०० शब्ददेखि अधिकतम १,९०० शब्दसम्ममा तयार गरी filmjournalistnepal@gmail.com मा पठाउन सक्नेछन्।
प्रतियोगिताका लागि प्राप्त सामग्रीमध्ये संघद्वारा गठित छनोट समितिले उत्कृष्ट पाँच सामग्री छनोट गर्नेछ। प्रतियोगितामा प्रथम हुनेलाई रु. २०,०००, द्वितीय हुनेलाई रु. १५,०००, तृतीय हुनेलाई रु. १०,००० तथा दुई जना सान्त्वना विजेतालाई जनही रु. ५,००० सहित प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्नेछ। साथै, संघका सदस्यहरू तथा मौलिक लेखनलाई प्राथमिकता दिइनेछ।
नेपाली चलचित्र पत्रकारिताको गुणस्तरीय विकास र सिर्जनशील लेखन संस्कृतिलाई सुदृढ बनाउने यस अभियानमा सम्पूर्ण चलचित्र पत्रकार तथा इच्छुक लेखकहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ।
 
 
महासचिव
गोपिकृष्ण चापागाईं
चलचित्र पत्रकार संघ नेपाल