कलाकारहरूको उपस्थितिमा सम्पन्न एक सार्वजनिक कार्यक्रममा भिडियो रिपोर्टिङ गर्ने क्रममा आज हिट नेपाल युट्युब च्यानलका क्यामेरा पर्सन सरोज मोक्तानद्वारा संघका केन्द्रिय सदस्य तथा गण्डकी लाइभ डटकमका सम्पादक पत्रकार दिनेश थापामाथि भएको कुटपिट र दुव्र्यवहारप्रति चलचित्र पत्रकार संघ नेपाल गम्भीर आपत्ति तथा घोर निन्दा व्यक्त गर्दछ ।
रिपोर्टिङजस्तो पेशागत कार्यमा संलग्न पत्रकारमाथी धम्की, हातपात र रक्ताम्मे हुने गरी गरिएको आक्रमण केवल एक व्यक्तिमाथिको हिंसा मात्र नभई समग्र प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामाथिको प्रहार हो । पत्रकारिताको नाममा क्यामेरा बोकेर दादागिरी, धम्की र हिंसात्मक व्यवहार प्रदर्शन गर्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । यस्ता गतिविधिले आम सञ्चार क्षेत्रलाई बदनाम बनाउने मात्र होइन, सभ्य र मर्यादित पत्रकारिताको गरिमामाथि नै आघात पु¥याएको छ ।
घटनाको बारेमा प्रत्यक्षदर्शीसमेत रहेका संघका सचिव मदन रिजालले दुवै पक्षसँग समन्वय गर्नुका साथै पीडित दिनेश थापाको प्राथमिक उपचारमा समेत सहजीकरण गर्नुभएको जानकारी गराइन्छ ।
संघ उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गर्दछ । साथै, पीडक पक्षलाई यस्ता अमानवीय र गैरजिम्मेवार गतिविधि तत्काल बन्द गर्न कडा चेतावनी दिँदै भविष्यमा पुनः यस्ता घटना दोहोरिए संघ थप सशक्त रूपमा उभिने स्पष्ट पार्दछ ।
यस दुःखद घटनामा घाइते हुनुभएका पत्रकार दिनेश थापाप्रति संघ हार्दिक सहानुभूति व्यक्त गर्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । पत्रकारमाथी हुने कुनै पनि प्रकारका हिंसा, दुव्र्यवहार, धम्की र दमनविरुद्ध चलचित्र पत्रकार संघ नेपाल सधैं आफ्नो सदस्य तथा श्रमजीवी पत्रकारहरूको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।
साथै, पत्रकार उपस्थित हुने सार्वजनिक कार्यक्रमहरूमा पत्रकारबाहेक अनधिकृत व्यक्तिहरूलाई प्रवेश वा संलग्न नगराउन सम्बन्धित सबै आयोजक तथा पक्षहरूलाई संघ विशेष अनुरोध गर्दछ । सञ्चारकर्मीलाई सुरक्षित र मर्यादित वातावरणमा आफ्नो पेशागत दायित्व निर्वाह गर्न दिनु सबैको साझा जिम्मेवारी हो भन्ने कुरामा संघ पुनः ध्यानाकर्षण गराउन चाहन्छ ।
गोपीकृष्ण चापागाईं
महासचिव
चलचित्र पत्रकार संघ नेपाल