‘चलचित्र क्षेत्रका बेथिती विषयक’ अन्तर्क्रिया
काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले नेपाल चलचित्र निर्माता संघको सहकार्यमा चियापान समारोह तथा ‘चलचित्र क्षेत्रका बेथिती विषयक’ अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमूख अतिथ्यतामा राजधानीमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन गर्यो । सो कार्यक्रमका संयोजक तथा चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीले बर्ष २०७५ को समिक्षागत अवधारणा पनि प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा बोल्दै वोर्ड अध्यक्ष भट्टराईले चलचित्र क्षेत्रमा समस्या नै समस्या रहेको बताउनुभयो । चलचित्र निर्माण, वितरण र प्रदर्शनमा धेरै नै समस्या भएको उहाँको स्विकारोक्ति थियो । त्यसको समाधानको लागि पहल गर्न अहिले राष्ट्रिय चलचित्र नीतिको अभावका कारण संभव नभईरहेको उहाँको तर्क थियो । आफ्नो पहिलो काम चलचित्र नीति लाई पारित गराउने प्रयास रहेको बताउँदै भट्टराईले भन्नुभयो, ‘जब चलचित्र नीति बन्छ, त्यसपछि चलचित्र क्षेत्रमा देखिएका बेथितीहरुको समाधान खोज्न सजिलो हुन्छ । हामी सबै मिलेर प्रक्रियागत रूपमा समाधान खोज्न सक्छौं’ ।

‘हामी विभिन्न समयमा चलचित्र क्षेत्रमा देखिएका समस्याहरूको वारेमा छलफल गर्छौं, समस्या निकाल्छौं तर समाधान गर्न सक्दैनौं । त्यसैले, अब चलचित्र नीतिले मात्रै समाधान खोज्ने हुँदा नीति पास गराउन सबै चलचित्रकर्मीहरु एकतावद्ध तरिकाले लाग्नुपर्छ’, उहाँको धारणा थियो । अध्यक्ष भट्टराईले आगामी आर्थिक बर्ष भित्र देशैभर बक्स अफिसको परिक्षण गरिने बताउनुभयो । बक्स अफिस परिक्षण पश्चात पूर्ण कार्यान्वयनतिर आफु अग्रसर हुने पनि उहाँले जिकिर गर्नुभयो ।

यस्तै, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधान तिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको दाबी गर्नुभयो । उहाँले निर्माताको धेरै समस्याहरुको बारेमा चलचित्र संघसँग सम्झौता भएपनि त्यो कार्यान्वयन नभएको बताउनुभयो । ‘ कार्यान्वयन गर्न चलचित्र संघ हच्किएको देखिन्छ, वितरकसँगको सम्झौता पत्रमा पनि उल्लेख भए अनुसारको कार्यान्वयन हुँदैन’, अधिकारीले भन्नुभयो । अधिकारीले कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने पनि बताउनुभयो । ‘कलाकारले आफुलाई रिजर्भ राख्न नसक्नु, आफ्नो दिनचार्यदेखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारिश्रमिकको माग गर्नुजस्ता समस्याहरु कलाकारमा छ’, गुनासो शैलीमा अधिकारीले बताउनुभयो । वितरण र प्रदर्शनको समस्याले निर्माता मारमा परेको उल्लेख गर्दै अधिकारीले त्यसको जिम्मेवार निकाय वितरक र चलचित्र संघले यस विषयमा सोच्नुपर्ने बताउनुभयो । यसमा सहकार्य र समन्वय गर्न चलचित्र विकास बोर्डलाई पनि अधिकारीले आग्रह गर्नुभयो ।

चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले चलचित्र क्षेत्रमा कोही पनि ईमान्दार नभएको आरोप लगाउनुभयो । उहाँले चलचित्रकर्मीमा सम्मान र सद्भाव नै नरहेको भन्दै आफ्नो चलचित्र आउँदा सबै जायज र अरुको चलचित्र आउँदा सबै कमजोरी देख्ने समस्या रहेको जिकिर गर्नुभयो । यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामा बोल्दै उदयले गलत समाचार दिने निर्माताहरु विकृतीको जिम्मेवार रहेको बताउनुभयो । ‘आफ्नो वास्तविक व्यापार लुकाएर मिडियामा प्रचारबाजी व्यापारको तथ्याङ्क दिने, गलत समाचार दिने परम्पराको अन्त्य हुनुपर्छ । कलाकारहरुले पनि आफ्नो पारश्रमिक बढि दावी गर्नु गलत छ । पारिश्रमिक बढि माग्ने कलाकारले व्यापारको केही प्रतिशत जिम्मेवारी लिनुपर्छ’, उदयको कथन थियो । प्रदर्शन र वितरणमा देखिएका समस्यामा सबैमा मपाईत्व भएको कारण समाधान नभईरहेको तर्क राख्दै उहाँले साझा समस्यालाई सबै चलचित्रकर्मीले आफ्नो समस्या सम्झेर समाधान गर्नुपर्ने बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दिप सापकोटाले निर्माताहरुले नै गलत समाचार सम्प्रेषण गरिरहेको बताउनुभयो । आफ्नो चलचित्र लाग्दै गर्दा गलत समाचार र गलत व्यापारको तथ्याङ्क दिने गरेको दाबी सापकोटाले गर्नुभयो । ‘हामी पत्रकारको काम सहि सुचना दिने हो, तर सुचना आउने स्रोतबाट नै गलत आएपछि त्यसको जवाफदेहिता स्रोत अर्थात निर्माताहरुले नै लिनुपर्छ’, अध्यक्ष सापकोटाले बताउनुभयो । गलत समाचार सम्प्रेषण गर्न निर्माताहरुले नै पत्रकार दिइरहने र समस्या पत्रकारमाथी थुपारिरहने निर्माताहरु सचेत हुनेपर्ने सापकोटाको तर्क थियो ।

आधा दर्जन बढि वितरकहरुलाई कार्यक्रमको सन्दर्भ दिएर पटक पटक उपस्थित हुन आग्रह गर्दा पनि वितरकहरु मिडियामाझ आउन डराएको चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीले दावी गर्नुभयो । ‘सबैलाई पटक पटक आग्रह गरेर कार्यक्रमको बारेमा जानकारी गराउँदा पनि उपस्थित हुने वचन गरेका वितरकहरु उपस्थित हुनुभएन’, बलामीले भन्नुभयो । निर्माताको समस्याको बारेमा वितरकमा देखिएका कारणहरुको समाचार बनाउँदा पत्रकारलाई धम्की दिने र सामाजिक सञ्जालमा मनको बह पोख्ने वितरकहरु कार्यक्रममा उपस्थित नहुनुले नै प्रदर्शन र वितरणमा ठुलो समस्या वितरककै कारण भएको उहाँको दावी थियो ।

कार्यक्रममा उपस्थित भएका वितरक गोपाल काजी कायस्थले वितरकहरुमा अस्वस्थ प्रतिस्पर्धा रहेको बताउनुभयो । अरुको अस्तित्व स्विकार गर्न नसक्नुले वितरकको राजनीतिले निर्माताहरु मारमा परेको उहाँले स्विकार्नुभयो । यद्यपी सबै वितरकहरु दोषी नभएको कायस्थले दावी गर्नुभयो ।

कार्यक्रममा कलाकार तथा निर्देशक दिपा श्री निरौलाले समग्र चलचित्र क्षेत्र सबैको साझा भएकोले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चलचित्र क्षेत्रका बेथितीहरुबारे उपस्थित संचारकर्मीहरुले आफ्ना जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा चलचित्र तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती थियो ।


